काठमाडौ, ३ मंसीर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । बुधवार बालुवाटारमा बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १८ मा स्थायी कमिटी बैठक बस्ने जानकारी दिए । यस्तै मंसिर १५ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठकलाई मंसिर २५ गतेसम्मकालागि सार्ने निर्णय पनि भएको छ । यस्तै अर्को सचिवालय बैठक मंसिर १३ गते बस्ने छ ।
१३ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष ओलीले पेश गर्ने प्रस्तावबारे पनि छलफल हुनेछ । बुधवारको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका पाटीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट पनि प्रस्ताव पेश गर्ने बताए । गत शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष ओलीको आलोचना गर्दै प्रस्ताव सचिवालयमा पेश गरेका थिए ।
साथै नेकपाका महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुको सामूहिक राजीनामाको प्रस्ताव गरेका छन् । बुधवार बसेको सचिवालय बैठकमा उनले सो प्रस्ताव राखेका छन् । सचिवालयका सबै सदस्य असफल भएको भन्दै उनले सबैले सामूहिक राजीनामा दिन प्रस्ताब गरेका ह्न । उनले पार्टीको जिम्मेवारी नयाँ पुस्तालाई दिन र सचिवालयमा पनि नयाँ पुस्ता ल्याउन प्रस्ताव गरेका छन् ।


















