२०८३ बैशाख १२ गते शनिवार

नेतालाई देवत्वकरण गर्नु आवश्यक छैन : शर्मा

बिजौरी हत्याकाण्डको सम्झना
Tulsipurkhabar

तुलसीपुर, १७ कार्तिक /  बिजौरी हत्याकाण्डको सम्झनामा दाङको तुलसीपुर स्थित हेमन्तपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।  २०५१ कार्तिक १७ गते तत्कालिन नेकपा एमालेले बिजौरीमा आयोजना गरेको शान्तिपूर्ण जुलुसमा कांग्रेस कार्यकर्ताले चलाएको गोली लागेर पुष्प घिमिरे, नारायण चौधरी र कृष्ण चौधरीको मृत्यु भएको थियो भने करिब ३७ जना कार्यकर्ता घाइते भएका थिए ।

पार्टीले प्रत्येक बर्षको कार्तिक १७ गते शहिदहरुको सम्झानामा श्रद्धाञ्जली सभा कार्यक्रम गर्दै आएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा तुलसीपुर उपमहानगरपालिका–१८ नम्बर वडाकमिटीले कार्यक्रमको आयोजना गरेको थियो ।  यद्यपी सोमबार गरिएको कार्यक्रममा भने शहिद परिवारका कुनै पनि सदस्य सहभागि थिएनन् ।

नेतालाई देवत्वकरण गर्नु आवश्यक छैन : केन्द्रीय सदस्य शर्मा

सो अवसरमा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य जगप्रसाद शर्मा अपारले पार्टीलाई फुटाउनु भन्दा पनि रुपान्तरण गर्नु पर्ने बेला भएको बताएका छन् ।  ‘नेताहरु पनि यहि समाजका उपज हुन् । उनका पनि कमिकम्जोरी ह्न्छन् ,’ राष्ट्रिय सभा सदस्य समेत रहेका अपारले भन्नुभयो –‘नेताले बोलेका सबै कुरा ठिकै हुन् भनेर देवत्वकरण गर्नुपर्ने आवश्यक छैन ।’

आफ्नो सबैभन्दा अमुल्य जिवन गुमाउनुको पछाडी शहिदहरुको कुनै व्यक्तिगत स्वार्थ नभएर समाज, राष्ट्रको परिवर्तनका लागि भएकाले उनिहरुको सपना पुरा गर्न विधि, पद्धती र आचरणलाई ख्याल गर्दै अगाडी बढ्नु पर्ने उहाँले बताए ।  सो अवसरमा राष्ट्रिय सभा सदस्य कोमल ओलीले ब्यालेटबाट नसकेर कांग्रेसले योजनावद्ध ढंगले कम्युनिष्ट पार्टीका कार्यकर्ताको बुलेटबाट कत्लेआम गर्न खोज्नु अन्याय र अत्याचारको पराकाष्टा भएको बताईन ।
सो अवसरमा बोल्ने अन्य नेताहरुले केन्द्रमा हुने छलफल, बहसले एक प्रकारको तरंग ल्याएपनि त्यसले पार्टीलाई अझै सुदृड र बलियो बनाउने भन्दै पार्टी नफुट्ने दाबी गरेका थिए ।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्का, नेता लक्ष्मण आचार्य, टोपेन्द्र केसी, तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डे, तुलसीपुर उपहानगरपालिका–१८ का वडाध्यक्ष माधव वली लगाएतले बोलेका थिए ।  नेपाल कम्युनिष्ट पार्टी १८ नम्बर वडाकमिटीका अध्यक्ष पदम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य शेरबहादुर खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया