तुलसीपुर, ९ असोज / भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य शोभाराम बस्नेतले अबको तीन वर्षमा एक करोडलाई लालपूर्जा बितरण गर्ने तयारीमा सरकार रहेको बताएका छन् । तुलसीपुरको बसपार्क क्षेत्रमा बस्दै आएका गरिब, विपन्न तथा सुकुमबासीले संयुक्त रुपमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै आयोगका सदस्य बस्नेतले यस्तो बताएका हुन् ।
कतिपय स्थानिय तहहरुमा लगत लिने काम सुरु भएको भन्दै कम्युनिष्ट सरकारको पालामा नै भूमिहिन सुकुमबासी र अव्यवस्थीत बसोबासीले हातहातमा लालपुर्जा पाउने दाबी गरे । ‘तपाँइको घर–घरमा, ढोका ढकढक्याउन स्थानिय सरकारबाट लगत लिन कर्मचारी आउँछन् । जेहो नढाँटेर सबै भनिदिनुहोला,’ आयोगका सदस्य बस्नेतले भने–‘घर वा जग्गाको मुल्याङ्कनका आधारमा कर तिरेर तपाईले लालपुर्जा पाउनुहुन्छ ।’ लालपुर्जा हामी दिन्छौ भन्दै पैसा माग्दै कोही जाली– फटाह आउन सक्ने तर्फ सचेत गराउँदै बस्नेतले कसैको भ्रममा नपर्न आग्रह गरे ।
दुई तिहाई बहुमतको सरकार भएकाले विगतका आयोग जस्तो काम नगरेर हराउने आयोग नभएको बताउँदै बस्नेतले लालपुर्जा पाउनकै लागि निकै दौडधूप र लाईनमा बसेर फारम बुझाउने झन्झटीलो प्रकृया नभई अनलाईनबाट सबै काम हुने बताए । सो अवसरमा बसपार्कको तल्लो क्षेत्रमा रहेका करिब १४ वटा टोल विकास संस्थाको प्रतिनिधित्व गर्दै संगित नगर टोल विकास संस्थाको तर्फबाट सचिव छवि परियारले आयोगका सदस्य बस्नेतलाई ज्ञापनपत्र बुझाएका थिए ।

भेलामा नेपाल कम्युनष्ठिट पार्टी नेकपाका ५ नम्बर वडा कमिटी अध्यक्ष वेदप्रसाद वली, सचिव दरिभान डाँगी, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, राजकुमार विक, निर्मल परियार, पवित्रा गिरी, लगाएतले भाषणमा भन्दा पनि व्यवहारमा कार्यान्वयन गरेर देखाउनु पर्नेमा जोड दिएका थिए । हरि बहादुर विकको अध्यक्षतामा भएको भेलाको सहजीकरण ज्ञानज्योति आधारभूत विद्यालय तुलसीपुरका प्रधानाध्यापक मेघराज घिमिरेले गरेका थिए ।


















