फाईल फोटो
दाङ, ८ असोज । लगातार बर्षातका कारण स्याङ्जाको छुट्टाछुट्टै ठाउँमा पहिरो जादा १० जनाको मृत्यु भएको छ । जिल्लाको वालिङमा पहिरो जादा परिवारका ९ जना जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १४ तमादीमा विहिवार विहान एक घर पहिरोले पुर्दा १० जना मध्ये ९ जनाको शव फेला परेको छ । एक जनाको जिवितै उद्धार गरी उपचारका लागी पोखरा पठाईएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
लगातार बर्षाका कारण आएको पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् । पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा परि ज्यान गएको हो ।
बाटोको छेउमा रहेको घर माथीबाट आएको पहिरोले पुरिएको हो । पहिरो विहान ५ बजेतिर आएको प्रजिअ क्षेत्रीले जानकारी दिएका छन् । शवलाई वालिङ हस्पिटलमा राखीएको छ । पानी परिरहेकाले अझै त्यस ठाउँमा दुई वटा घर जोखिममा रहेको हुदा ती घरलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तैगरी सोहि जिल्लाको कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा दुई वटा घर भत्किदा एक जनाको मृत्यु भएको प्रजिअ क्षेत्रीले जानकारी दिएका छन् । कालिगण्डकीमा २ बजेतिर पहिरो आउदा घर भत्किएको हो ।





