२०८३ बैशाख १२ गते शनिवार

फुलमाला लगाएर विक पक्कि घरमा बसाई सरेपछि………..

अमिलिया, ४ असोज / कुनै पनि कार्यक्रममा प्रमुख अतिथि, अतिथिको गलामा फुलमाला हुन्थ्यो । कार्यक्रम गर्दा उतै प्राथमिकता पथ्र्यो तर, दाङको अमिलियामा फरक दृश्य देखियो । टेवुलमा राखिएको फुल माला प्रमुख अतिथि, अतिथिहरुले एकजना वृद्ध व्यक्तिको गलाभरी लगाईदिए । सुखद जीवनयापनको कामना गरे ।

जनता आवास मार्फत बनेको पक्कि घर हस्तान्तरण कार्यक्रममा घरधनीलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, अतिथि लमही नगर प्रमुख कुलबहादुर केसी सहित अन्य नेतृत्वले वृद्ध रविलाल बिकलाई सम्मान गरे ।

‘विपन्न दलित परिवारका सदस्यहरुले अहिले पनि विभिन्न वहानामा विभेद सहनु परेको छ । हामीले विभेदको अन्त्य गर्न चाहन्छौं । उहाँहरुको सम्मानको लागी हामीले आफै कार्यक्रम राखेका हौं’ प्रदेशसभा सदस्य शर्माले भने –‘जनतामा खुसी र उत्साह छर्न चाहन्छौं । त्यही अन्तरगत यो एउटा कार्यक्रम हो ।’ यस्तै शर्माले गरिब, विपन्नको पक्षमा सरकार भएको बताउनु भएको छ । शर्माले रविलाल बिक र उहाँको परिवारलाई सुखद जीवनपायनको शुभकामना दिए ।

‘जसको कोही छैन । उसको सरकार छ भन्ने प्रमाणित ग¥यौं । गरिब, विपन्न दलित परिवारलाई सरकारले पक्कि घर दिएर सम्मान गरेको छ’उहाँले भन्नुभयो–‘गोठमा बस्दै आउनुभएकाहरुलाई फुलमालाले स्वागत गरेर हामी आफैले गृह प्रवेश गराएका छौं ।’

लमही नगरपालिका वडा नं ९ अमिलिया निवासी रविलाल बिकलाई पक्कि घर हस्तान्तरण गरिएको हो । जनता आवास कार्यक्रम मार्फत निर्माण सम्पन्न भएको पक्कि घर बिकलाई हस्तान्तरण गरिएको छ । जनता आवास कार्यक्रम मार्फत गत आर्थिक बर्षमा छानिएका लाभग्राहीको घर निर्माण सम्पन्न हुन थालेका छन् । दाङ निर्वाचन क्षेत्र नं १ ख मा ४४ ओटा घर निर्माण भैरहेका हुन ।

एउटा घर बनाउन प्रदेश सरकारले तीन लाख ३६ हजार रुपैयाँ अनुदान दिदै आएको छ । अति विपन्न दलित, मुस्लिम र धोवी समुदायका व्यक्तिको घर बनिरहेका छन् । घरधनी रविलाल बिकको अध्यक्षता तथा प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले तीन तहकै सरकारले गरिब, विपन्नको सहज जीवनयापनका लागी योजनाबद्ध ढंगले काम गरिरहेको बताए ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य रतनकुमार केसी, बिरबहादुर केसी, लमही नगर ईञ्चार्ज अम्मर कँवर, सह–ईञ्चार्ज नारायण डिसी छम्पाली, वडा कमिटिका अध्यक्ष खिमबहादुर केसी, नगर कमिटि सदस्य भानु जोशी लगायतका वक्ताहरुले सरकारले गरिब दुःखीको पक्षमा काम गरेको बताएका थिए । दलित सचेतना अभियानका अध्यक्ष शसिराम नेपालीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा कमिटि सचिव मानसिंग ओलीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया