काठमाडौ, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न लामो टकराबपछि भएको सहमतिका आधारमा सरकारमाथि पार्टीको सर्वोच्चता परीक्षण गर्ने तयारीमा नेताहरु जुटेका छन्।पछिल्लो स्थायी कमिटी बैठकले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अधिकार प्रत्यायोजन गरेपछि पहिलो पटक कोटेश्वरस्थित पेरिसडाँडामामा आइतवार बस्न लागेको पार्टी सचिवालय बैठकबाट नेताहरुले त्यस कार्यको थालनी गर्ने बुझिएको छ।
गत भदौ २६ गतेको स्थायी कमिटी बैठकमा प्रचण्ड र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यबिभाजन र कार्यअधिकार स्पष्ट पार्दै पारित प्रस्तावमा ‘अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतरुपमा अघि बढाउन समन्व्य गर्ने’ भन्ने उल्लेख गरिएको थियो।
त्यसका आधारमा अब आइतवारको सचिवालय बैठकमा उपयुक्त मापदण्ड निर्माणको थालनी, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रिपरिषद्का पुनर्गठनका लागि सूची तयार पार्ने विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।


















