काठमाडौ, २६ भदौ । नेपाल कम्युनिष्ट पाटी (नेकपा)को महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाण्डौमा हुने भएको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एकतापछिको पहिलो महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको हो । पाटीको आन्तरिक किचलो समाधानको लागि सचिवालयले बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन पनि स्थायी कमिटीले पारित गरेको छ । बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा भएका केही प्रावधान परिर्वतन गरेर संसदबाट अनुमोदन गर्ने पनि निर्णय गरेको छ । यसको जिम्मा सचिवालयलाई दिइएको छ ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही अन्र्तराष्ट्रिय र प्रतिक्रियावादीहरुले नेकपाको एकता भाँड्न प्रयास गरे पनि असफल भएको बताउनुभएको थियो । केहीबेर बैठकमा बसेर प्रधानमन्त्री ओली बाहिरीएका थिए । बैठक पाटीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो ।अर्का अध्यक्ष प्रचण्ड पार्टी कार्यकारी अधिकारसहित पार्टीमा काम गर्ने निर्णय भएको छ ।गत असार १० देखि जारी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ ।बैठकमा अध्यक्षद्वयले तयार पारेको प्रस्तावमाथि १३ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए। ती सबै धारणाका बारेमा अध्यक्ष प्रचण्डले जवाफ दिए ।
बैठकले पार्टी एकता रक्षा गर्ने, सुदृढ गर्दै अगाडि बढाउने पनि निर्णय गरेको प्रवक्ता नारायण्काजी श्रेष्ठले जानकारी दिए । पार्टीलाई विधिसम्मत् अगाडि बढाउने र कमीकमजोरी सच्याउने अनि एकतावद्ध रूपमा अघि बढ्ने निर्णय बैठकले गरेको छ । दैनिक काममा पार्टीले सरकारलाई हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टीको मार्ग निर्देशनलाई सरकारले ध्यान दिएर निर्णय गर्नुपर्ने निस्कर्ष पनि स्थायी कमिटी बैठले गरेको छ ।


















