काठमाडौ, २३ भदौ । नेपाली कांग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ । यहि भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने कांग्रेसले जनाएको छ ।
भदौ २४ गते दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयको विचार गोष्ठी आयोजना हुने छ । सो कार्यक्रममा मुख्य वक्ताको रुपमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी भदौ २५ गते दिउँसो १ बजे नै ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान’ विषयमा विचार गोष्ठी हुने छ ।
यसैगरी भदौ २६ गते दिउँसो १ बजे नै ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा विचार गोष्ठी आयोजना गरिने कांग्रेसले जनाएको छ । बीपी कोइरालाको जन्मजयन्ती भदौ २४ गते पर्दछ ।


















