२०८३ बैशाख १२ गते शनिवार

प्रधानमन्त्रीको पक्षमा जुलुस हुँदा अर्कोपक्षको अवरोध

सप्तरी, राजविराज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद केन्द्रदेखी जिल्लासम्म फैलिदै गएको छ । बुधबार सप्तरी जिल्लामा पनि यसको प्रभाव देखिएको हो । एउटै पार्टीका एकपक्षले कार्यक्रम गर्न खोज्दा अर्को पक्षले बिथोलिदिएका छन् । कार्यक्रम गर्न नदिन अर्को पक्षले अवरोध गरेपछि केही बेर घम्साघम्सीसहित माहौल तनावग्रस्त बन्यो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी नै परिचालन गर्नु परेको थियो ।

तत्कालिन एमालेका तर्फबाट राजविराज नगरपालिकाका मेयर पदका प्रत्यासी हाल नेकपा प्रदेश २ का सदस्य सुखराम यादव, अशोक यादव, अखिलेश झाल, दुर्गानन्द ठाकुर लगायतले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन तथा पार्टी एकता कायम राख्नका लागि भन्दै जुलुस निकाल्ने तयारी गरेका थिए । सोका लागि स्थानिय शिवमन्दिर प्राङणमा नेता तथा कार्यकर्ताहरु जम्मा भएका थिए ।

तर, अर्को पक्षले पार्टीभित्र कुनै छलफल नै नगरि एकपक्षिय ढंगले जुलुस निकाल्ने तयारी गरिएकाले बिरोध जनाएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका नेकपाका नेता उमेश यादवले पार्टी नीति निर्देशन विपरीत मनपरी ढंगले कार्यक्रम गर्न लागेकाले रोकिएको बताए । उनले जिल्ला कमिटीका अध्यक्ष र सचिव दुबैको अनुपस्थितिमा हुन लागेको कार्यक्रमलाई पार्टीको आधिकारीक कार्यक्रम भन्न नमिल्ने जिकिर गरे ।

यता कार्यक्रम आयोजक मध्येका एक सुखराम यादवले प्रधानमन्त्री ओलीको समर्थन तथा पार्टीलाई फुटबाट जोगाउन खबरदारीका लागि गर्न खोजिएको कार्यक्रममा अवरोध पु-याउन खोज्नु दुःखद भएको बताए ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया