काठमाडौ, २३ असार ।
समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ।पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको हो।लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्।
जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन्।सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ।


















