आलोक यादव
सिरहा । सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक लहानमा सुरु भएको छ । लहान नगरपालिका–७ स्थित मारवाडी सेवा सदनमा ११ बजेबाट सुरु भएको बैठकमा तराईका २२ जिल्लाबाट परिषद् सदस्यहरु सहभागी छन् ।
परिषद् बैठकका लागि स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउत बिहान ९ बजे जनकपुरबाट लहान आएका थिए। उनको प्रवेशसंगै कार्यक्रमस्थल मारवाडी सेवा सदनको सुरक्षा कडा पारिएको छ । मूल गेटबाटै सीकेका आन्तरिक सुरक्षा दस्ताले कार्यक्रमस्थलको सुरक्षा दिइरहेका छन् ।
नेपाल प्रहरी मूल गेट बाहिर सडकमा उभिएर बाहिरी सुरक्षा पहरा दिइरहेका छन् । कार्यक्रमस्थल मारवाडी सेवा सदनभित्र प्रवेश गरेका नेपाल प्रहरीका दुई जनालाई सीकेका आन्तरिक सुरक्षा दस्ताले बाहिर निकालिदिएको स्रोतले बताएको छ ।
कार्यक्रममा सहभागी हुन आएका गठबन्धनका कार्यकर्तालाई समेत मूल गेटमै कडा सुरक्षा जाँचपछि भित्र प्रवेश दिइएको छ। गेटमै नागरिकताको प्रमाण पत्र, परिचयपत्र देखाएर सुरक्षा जाँच गराइ भित्र प्रवेश पाइने गठबन्धनका एक कार्यकर्ताले बताए ।
सीके नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि लहानमा जारी दुई दिने पहिलो परिषद् बैठकलाई महत्वका साथ हेरिँदै छ । सहभागी परिषद् सदस्यमाझ सीकेले सहमतिबारे बेलिविस्तार गर्ने बुझिएको छ । यसै बैठकबाट आगामी रणनीति समेत तय गरिने छ। सरकारसँग भएका सहमतिको बुँदामा उल्लेखित शब्दहरुमाथि पनि सूक्ष्म र गहन छलफल हुनेछ ।
सहमतिलाई जनतामाझ कसरी लिएर जाने, जनताको जिज्ञासालाई कसरी सम्बोधन गर्ने, संगठनलाई अझ सशक्त रुपमा कसरी संगठित बनाउनेरु राजनीतिक रुपमा कुन रणनीतिका साथ जनतामा जाने लगायतका विषय बैठकमा छलफलको विषय हुने गठबन्धन स्रोतले बताएको छ ।
सरकारसँग भएको ११ बुँदे सहमतिलाई गठबन्धनले रणनीतिक जीतको रुपमा लिएको छ। जन अभिमतलाई जनमत संग्रहको रुपमा अथ्र्याउँदै आएको गठबन्धनले यसलाई रणनीतिक जीत भन्दै जनतामाझ सशतम रुपमा जाने निर्णय समेत गर्न सक्ने बताइएको छ ।
सोमबार बैठक सम्पन्न भएपछि सार्वजनिक गर्न मिल्ने निर्णयहरु संचारकर्मीमार्फत सार्वजनिक गर्ने गठबन्धनका सदस्य बालेशवर यादवले बताए । चैत ५ गते मंगलबार सीके राउतको नागरिक अभिनन्दन तथा स्वागत -याली लहानको सहिद चोकमा निकालिने यादवले बताए ।
आइतबारदेखि लहानमा जारी परिष्द बैठकमा सहभागी हुन आउने परिषद् सदस्यलाई नागरिकता अनिवार्य गरिएको थियो । बैठकमा बाह्य घुषपैठ हुन नदिन सुरक्षा स्वरुप नागरिकता अनिवार्य गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
आइतबारको बैठकमा सहभागी हुन आउने परिषद् सदस्यलाई प्रवेशको क्रममा परिचय पत्र र नागरिकता दुबै हेरेर सुरक्षा जाँचपछि मात्र बैठक कक्षतर्फ प्रवेश अनुमति दिइनाले नागरिकताको अनिवार्यता सुरक्षाको दृष्टिले गरिएको बुझिन्छ।


















