सिन्धुली,७ मंसिर । सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा जिपको ढोकाबाट खसेर घाइते भएका घ्याङलेख गाउँपालिका–४ बन्दीपुर निवासी ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु भएको हो।
प्रहरीका अनुसार आज बिहान घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार योञ्जनले ढोकाको लक समातेर बसेका थिए। सोही क्रममा अचानक लक खुलेपछि उनी जिपबाट खसेर घाइते भएका थिए।
घाइते योञ्जनलाई सोही जिपमा राखेर उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि प्रहरीले जिप र चालक कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते सोमवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।