२०८३ कार्तिक ८ गते शनिवार

बाँकेमा दुई कार ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

फोटो फाईल

बाँके, ७ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सौंरीमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। उनी दुर्घटनामा परेको एक कारमा सवार थिए।

बाँके प्रहरीका प्रवक्ता डिएसपी प्रतितसिंह राठोरका अनुसार दुर्घटनामा टेकबहादुर सवार कारका चालक ४५ वर्षीय नरेन्द्रबहादुर शाही, ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही घाइते भएका छन्। नरेन्द्रको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकलमा उपचार भइरहेको छ भने कुसुम र सुभमको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

उक्त कारका चालक घोराही–७ सौरियारका ४० वर्षीय सम्राटनाथ योगीको अवस्था भने सामान्य छ। उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सौंरीमा बिहान करिब ९ बजे दुर्घटना भएको हो। घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार र विपरीत दिशाबाट पूर्वतर्फ जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार एकआपसमा ठोक्किएका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक ८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।