तुलसीपुर, ३० असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा पूर्वाधार लगानी अन्तर्गत पहिलो चरणमा देशभरका ८९ वटा विद्यालयको लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रालयका अनुसार २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना ल्याएको छ । जसका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमध्ये पहिलो चरणमा देशभरका ८९ वटा विद्यालयको पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीन तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने गरी प्रक्रिया थालेको छ । मधेश प्रदेशपछि लुम्बिनी र कोशी प्रदेशमा पनि ठूलो संख्यामा विद्यालयहरू परेका छन् । लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन् । जसमा दाङका ६ वटा विद्यालय समावेश भएका छन् । ती मध्ये तुलसीपुरका दुई वटा सामुदायिक विद्यालय छनोट भएका छन् । तुलसीपुर ६ मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर र तुलसीपुर ४ मा रहेको गुरु जजुर नमुना माध्यमिक विद्यालय रक्षाचौर परेका छ् ।
यस्तै घोराहीका पद्मोदय पब्लिक माध्यमिक विद्यालय,माध्यमिक विद्यालय रझेना, बाल विकास माध्यमिक विद्यालय र सिद्दरत्न माध्यमिक विद्यालय नारायणपुर रहेका छन् । यस्तै रोल्पाको बालकल्याण माध्यमिक विद्यालय रहेका छन् भने कर्णाली प्रदेशमा जुम्लाको चन्दननाथ माध्यमिक विद्यालय, सुर्खेतको अमरज्योति माध्यमिक विद्यालय र जन माध्यमिक विद्यालय रहेका छन् ।













टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।