२०८३ असोज १८ गते आइतवार

कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा

काठमाडौँ,१७ असोज । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । महाधिवेशनस्थलमा शनिवार पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो । चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यस पटक पूर्वसभापति शेरबहादुर देउवामार्फत गराउने प्रयास गरिएको छ । तर देउवा उपस्थित नभएको अवस्थामा सभापति गगन थापाले नै उद्घाटन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

महाधिवेशनमा सभापति थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो । सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेताभन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड दिने बताउनुभयो ।यसैबीच महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो । हरेक प्रतिनिधिले ३५ सय रुपैयाँमा झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो ।

भोलि उद्घाटन हुने महाधिवेशनको १९ र २० गते बन्दसत्र हुनेछ भने २१ र २२ गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन दर्ता पर्सि सोमवार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले युवा र महिलाको पहुँच बढाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।