सल्यान १० असोज । नेपाली कांग्रेस सल्यानका जिल्ला सभापति तथा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय नेता केशबहादुर बिष्टले आगामी निर्वाचनमा आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउन क्षेत्रीय प्रतिनिधिहरूसँग अमूल्य मत माग्नुभएको छ।
सल्यान जिल्लाका ८३ वटै वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै बिष्टले नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत पार्टीमा नेतृत्व परिवर्तन, रूपान्तरण र अग्रगामी परिवर्तन आवश्यक रहेको बताउनुभएको छ। उहाँले आफू विचारमा स्पष्टतासहित पार्टी रूपान्तरणको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्नुभएको छ।
बिष्टले भन्नुभएको छ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन, रूपान्तरण र अग्रगामी परिवर्तनको पक्षमा बलियो समर्थन र पक्षधरता जनाउँदै कर्णाली प्रदेश सभापतिको पङ्क्तिमा उभिएर विचारमा स्पष्टतासहित सल्यान जिल्लाको जिल्ला सभापति भएर काम गरिरहेको छु। उहाँले आगामी १२ गते हुने महाधिवेशन प्रतिनिधि निर्वाचनमा आफूलाई अमूल्य मत प्रदान गरी निर्वाचित गराउन क्षेत्रीय प्रतिनिधिहरूसँग हार्दिक अनुरोधसमेत गर्नुभएको छ।
बिष्ट लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले २०४६ सालको परिवर्तनका क्रममा नेपाल विद्यार्थी संघको तर्फबाट आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो। त्यसपछि २०४८ सालदेखि २०६१ सालसम्म नेपाल शिक्षक संघको अध्यक्षलगायत विभिन्न जिम्मेवारी सम्हाल्नुभएको बताइएको छ।
त्यसैगरी, बिष्टले २०६१ सालदेखि नेपाली कांग्रेस क्षेत्र नम्बर २ को सभापति, २०६७ सालमा जिल्ला उपसभापति तथा २०७८ सालमा नेपाली कांग्रेस सल्यानको जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँ २०७४ सालमा जिल्ला समन्वय समितिको प्रमुखसमेत बन्नुभएको थियो।
लामो राजनीतिक तथा सांगठनिक अनुभवलाई आधार बनाउँदै बिष्टले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएमा केन्द्रीय नेतृत्वमा समेत सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
महाधिवेशन प्रतिनिधि निर्वाचन नजिकिँदै गर्दा सल्यान कांग्रेसभित्र विभिन्न उम्मेदवारहरूले क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट तथा मत माग्ने क्रमलाई तीव्र बनाएका छन्। बिष्टले भने आफ्नो लामो राजनीतिक अनुभव, संगठनात्मक भूमिका र पार्टी रूपान्तरणको एजेन्डालाई अघि सार्दै प्रतिनिधिहरूसँग मत माग्नुभएको हो।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।