२०८३ असोज ३ गते शनिवार

कांग्रेस महाधिवेशनमा नजान नेता गिरीको आग्रह

तुलसीपुर, ३ असोज । नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीले पार्टीको महाधिवेशनमा सहभागी नहुन आम कार्यकर्तालाई आग्रह गर्नुभएको छ। कांग्रेसको महाधिवेशनका लागि वडा तहको अधिवेशन सुरु भएकै दिन नेता गिरीले यस्तो आह्वान गर्नुभएको हो। ‘म देउवा पक्षको मान्छे हुँ। म अधिवेशनमा भाग लिँदिनँ। अन्य नेता तथा कार्यकर्तालाई पनि गगन थापाको नेतृत्वमा हुन लागेको कथित अधिवेशनमा सहभागी नभई मलाई सहयोग गर्न आग्रह गर्दछु,’ गिरीले टेलिफोनमार्फत तुलसीपुर खबरसँग भन्नुभयो।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसदसमेत रहनुभएका गिरी पार्टीभित्र आफ्ना धारणा खुलेर राख्ने नेताका रूपमा चिनिनुहुन्छ। उहाँको स्पष्ट र प्रत्यक्ष अभिव्यक्तिका कारण कतिपय नेता–कार्यकर्ताले उहाँको स्वभावलाई मन नपराउने गरेको बताइन्छ। यसैबीच, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भने महाधिवेशनबारे आफ्नो धारणा अझै सार्वजनिक गर्नुभएको छैन। पूर्वमुख्यमन्त्री चौधरी शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर दाङ फर्किनुभएको थियो।

त्यसैगरी, स्रोतका अनुसार कांग्रेस दाङका पूर्वसभापति कृतिबहादुर खड्काले पनि महाधिवेशनमा सहभागी नहुने सम्भावना बढेको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सञ्चालन हुँदैछ। महाधिवेशनका लागि आजदेखि वडा तहका अधिवेशन सुरु भएका छन्।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।