२०८३ भाद्र १० गते बुधवार

प्रधानमन्त्रीको सम्बोधन : रसुवा बाढीका पीडितको उद्धारदेखि पुनःस्थापनासम्म सरकारको जिम्मेवारी

फोटो फाईल

काठमाडौं, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रधानमन्त्रीले उद्धार, उपचार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताउनुभएको छ।देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले बाढीबाट ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको दुःखद खबर प्राप्त भएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

उहाँले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई तत्काल परिचालन गरिएको जानकारी दिँदै नेपाली सेनाका हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको बताउनुभयो। उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको उहाँको भनाइ रहेको  छ। प्रधानमन्त्रीका अनुसार घाइतेको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको छ।उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आकस्मिक उपचारका लागि तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो।

बाढी प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको र नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायतका निकायबाट समेत स्वास्थ्य सामग्री तथा उद्धारकर्मी पठाइएको प्रधानमन्त्रीले बताउनुभयो। रगत, औषधि तथा आपत्कालीन स्वास्थ्य सेवाको अभाव हुन नदिन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उहाँको भनाइ छ।प्रधानमन्त्रीले बेपत्ता नागरिकको खोजी कार्यलाई थप तीव्र पारिने र घाइते तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिने बताउनुभयो। उहाँले आज रातभर पनि उद्धार कार्य जारी रहने जानकारी दिनुभयो।

बाढीबाट नुवाकोटको विदुर, रसुवाका उत्तरगया र गोसाइँकुण्ड, धादिङका गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी तथा सिद्धलेख र गोरखाका शहीद लखन तथा गण्डकी गाउँपालिका प्रभावित भएको उल्लेख गर्दै ती क्षेत्रमा पीडित परिवारसम्म खानेकुरा, स्वच्छ खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने प्रधानमन्त्रीले बताउनुभयो।त्यसैगरी बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचना प्राथमिकताका साथ पुनर्निर्माण गर्ने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने सरकारको योजना रहेको भन्दै  उहाँले आफ्नो फेसबुक पेज मार्फत  स्पष्ट पार्नु भएको छ ।

प्रधानमन्त्रीले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई एक्लो महसुस नगर्न आग्रह गर्दै “राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूको साथमा छ” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाँले उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि सरकार पूर्ण रूपमा सक्रिय रहेको बताउँदै सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई समेत राहत तथा उद्धार अभियानमा सहयोग गर्न अपिल गर्नुभएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया