२०८३ भाद्र १० गते बुधवार

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं १० भदौ । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जनाको उपचार भइरहेको छ। त्यहाँ नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने उपचाररत छन्।यस्तै, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवाको गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भने बाढीमा परी घाइते भएका अधिकांशको उपचार भइरहेको छ। उपचाररतमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्बा तामाङ, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा जाजरकोटका बलबहादुर घर्ती मगर रहेका छन्।

त्यसैगरी गोसाइँकुण्ड–७ का कामु नगरकोटी, प्रेमदोर्जे घले र नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्पा लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर तथा भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
कामु नगरकोटीसँग तीन महिनाको नाबालक शिशु समेत रहेको जनाइएको छ।भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ। घटनामा थप मानवीय क्षति तथा घाइतेको विवरण संकलन भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया