२०८३ भाद्र ९ गते मङ्गलवार

जनज्योति माविलाई लुम्बिनी प्रदेश जुम्बा डान्सको सहयोग

 तुलसिपुर ९ भदौ। लुम्बिनी प्रदेश जुम्बा डान्स दोघरेको टोलीले तुलसीपुर–१३ स्थित जनज्योति माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेको छ। विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले जुम्बा डान्सको टोलीले सोमबार विद्यालयलाई १ थान दराज, १२ वटा कुर्सी र १० वटा सिलिङ फ्यान हस्तान्तरण गरेको हो। विद्यालयको आर्थिक अवस्था कमजोर रहेको तथा आवश्यक भौतिक सामग्रीको अभाव रहेको जानकारी पाएपछि जुम्बा डान्सको टोलीले सहयोगका लागि पहल गरेको जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा जुम्बाका सल्लाहकार जागेश्वर ओली र अध्यक्ष दिलिप केसीले विद्यालयको अवस्था कमजोर रहेको र आर्थिक स्रोतको अभावका कारण आवश्यक सामग्री जुटाउन समस्या भइरहेको गुनासो सुनेपछि सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो।सहयोगमा जुम्बाका सल्लाहकार जागेश्वर ओली, अध्यक्ष दिलिप केसी, सदस्य एकराज चन्द र चन्द्र चौधरीसँगै बीआर डेन्टल, नेपाल लाइफ इन्स्योरेन्स, भगवती सेन, दिपा खड्का, सूर्य ज्वैलर्स र रिजाल इलेक्ट्रोनिक्सको सहयोग रहेको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शारदा नेपाली र प्रधानाध्यापक कर्णवीर केसीले विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएकोमा सम्पूर्ण सहयोगी दाताप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँहरूले यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक कर्णवीर केसीले गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक मधु नेपालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश जुम्बा डान्स दोघरेका पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो। विद्यालयले आवश्यक सामग्री अभाव झेलिरहेका बेला प्राप्त सहयोगले विद्यार्थी तथा शिक्षकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया