२०८३ भाद्र ४ गते बिहिवार

इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब ,कसको कति (विस्तृतमा)

फोटो फाईल

काठमाण्डौ, ४ भदौ । शिक्षकहरूले फेरि आन्दोलन गर्ने चेतावनी दिएसँगै सरकारले उनीहरूको माग सम्बोधन गर्न थालेको छ। हिजो बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ। यस्तै,सरकारले कक्षा ९–१० र कक्षा ६–८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीसरह कायम गर्ने पनि निर्णय गरेको छ।

जसअनुसार अब संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ। त्यस्तै, आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ।

यसैगरी, इसिडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप हुँदा ९इसिडी० सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपैयाँ पुगेको छ। विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ। यस अघि नेपाल शिक्षक महासंघले ईसीडी, राहत शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि लगाएतका मुद्दा उठाएर भदौ देखी आन्दोलन गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया