२०८३ भाद्र २ गते मङ्गलवार

महिनावारीका बेला छात्रालाई सहज बनाउन दुई विद्यालयमा प्याड डिस्पोजल मेसिन हस्तान्तरण

तुलसीपुर १ भदौ । महिनावारीका बेला छात्राहरूले विद्यालयमा भोग्दै आएका समस्या न्यूनीकरण गर्ने उद्देश्यले तुलसीपुरका दुई सामुदायिक विद्यालयमा प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरिएको छ। माया ग्रुप संस्थाले सोमबार  तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जनज्योति माध्यमिक विद्यालय, तुई रनियापुर र वडा नं. १४ स्थित बालमितेरी माध्यमिक विद्यालय,  भोजपुरमा प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको हो।

लुम्बिनी जुम्बा डान्स दोघरेको पहलमा माया ग्रुप संस्थाले उक्त मेसिन विद्यालयलाई उपलब्ध गराएको हो। माया ग्रुपकी अध्यक्ष आराध्या गिरीको नेतृत्वमा विद्यालय पुगेको टोलीले दुवै विद्यालयका लाई मेसिन हस्तान्तरण गरेको थियो।कक्षा ९ मा अध्ययनरत आराध्या गिरीले आफूहरूले फूल बिक्रीबाट संकलन गरेको रकमबाट प्याड डिस्पोजल मेसिन खरिद गरी विद्यालयलाई सहयोग गरेको बताउनुभयो। महिनावारीका बेला छात्राहरूलाई विद्यालयमा प्याड व्यवस्थापन तथा प्रयोगपछि त्यसको सुरक्षित विसर्जनमा समस्या हुने गरेको आफूहरूले महसुस गरेपछि सहयोग गर्ने सोच बनाएको उहाँको भनाइ छ।

‘महिनावारी प्राकृतिक प्रक्रिया हो। तर, यस समयमा छात्राहरूले विद्यालयमै विभिन्न समस्या भोग्नुपर्ने अवस्था देखिन्छ,’ गिरीले भन्नुभयो, ‘फूल बेचेर संकलन गरेको रकमबाट मेसिन खरिद गरी विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको गिरिले बताउनु भयो । मेसिन हस्तान्तरण कार्यक्रममा इन्दु गिरी, मोहन स्वर्णकार, जागेश्वर ओली, दिलिप केसी, चन्द्र चौधरी, सावित्रा पौडेललगायतको सहभागिता रहेको थियो। बालमितेरी माध्यमिक विद्यालय, भोजपुरका प्रधानाध्यापक हेमन्त कडेलले विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सहयोग निकै उपयोगी भएको बताउनुभयो। उहाँले छात्राहरूको आवश्यकता र समस्यालाई ध्यानमा राख्दै यस्तो पहल गर्नु सकारात्मक र अनुकरणीय भएको भन्दै लुम्बिनी जुम्बा डान्स दोघरेको टोली तथा माया ग्रुपकी अध्यक्ष आराध्या गिरीप्रति धन्यवाद व्यक्त गर्नुभयो।त्यस्तै, सम्बन्धित वडा अध्यक्ष शंकर खड्काले छात्राहरूको स्वास्थ्य तथा सरसफाइसँग जोडिएको विषयमा सहयोग गरिएको भन्दै आभार व्यक्त गर्नुभयो।

उहाँले विद्यालयमा अध्ययन गर्ने बालिकाहरूका लागि सहज र सुरक्षित वातावरण निर्माण गर्न यस्ता पहल आवश्यक रहेको बताउनुभयो। जनज्योति माध्यमिक विद्यालय, तुई रनियापुरका प्रधानाध्यापकले पनि विद्यालयमा प्याड डिस्पोजल मेसिन उपलब्ध भएपछि छात्राहरूलाई महिनावारीका बेला हुने समस्या समाधानमा सहयोग पुग्ने भन्दै खुसी व्यक्त गर्नुभयो।महिनावारीलाई अझै पनि समाजका कतिपय ठाउँमा संकोच र लाजको विषयका रूपमा हेर्ने गरिएको अवस्थामा विद्यालय तहबाटै महिनावारी स्वच्छता तथा सुरक्षित व्यवस्थापनबारे सचेतना बढाउनु आवश्यक मानिन्छ। यसै सन्दर्भमा दुई विद्यालयमा गरिएको प्याड डिस्पोजल मेसिन हस्तान्तरणले छात्राहरूलाई महिनावारीका बेला विद्यालयमा सहज रूपमा अध्ययन गर्ने वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
प्रतिक्रिया