२०८३ साउन ९ गते शनिवार

पुस्तकबाट मात्रै होइन, व्यवहारबाट पनि सिक्दै कानूनका विद्यार्थी :

तुलसीपुर,९ दाङ। कानूनका सिद्धान्त केवल कक्षाकोठामा पढेर मात्र होइन, समाजमा व्यवहारमार्फत पनि स्थापित गर्न सकिन्छ भन्ने सन्देश तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरूले दिएका छन्। तुलसीपुर–१२ स्थित मेट्रो कलेजका BALLB दोस्रो सेमेस्टरका विद्यार्थीहरूले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै श्रमिक चन्द्रवीर ओलीको घरमै पुगेर खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेका छन्।

“शिक्षासँगसँगै सामाजिक उत्तरदायित्वमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूले अथक श्रम, इमानदारी र संघर्षका प्रतीक बनेका चन्द्रवीर ओलीप्रति सम्मान प्रकट गर्दै चामल, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा कलेजका प्राचार्य बसन्तकुमार आचार्य, कानून विभागका संयोजक विजय पोखरेल तथा शिक्षकहरू किशोर अर्याल, बसन्त टन्डन, प्रकृति कोइराला र प्रेक्षा गोराथोकीको उपस्थिति रहेको थियो। सहभागी शिक्षकहरूले विद्यार्थीहरूको मानवीय सोच र सेवामूलक अभियानको प्रशंसा गर्दै शिक्षा समाजसँग जोडिएर मात्रै अर्थपूर्ण हुने धारणा व्यक्त गरे।विद्यार्थीहरूका अनुसार कार्यक्रमको उद्देश्य सहयोग वितरणमा मात्र सीमित नभई श्रमको सम्मान गर्ने संस्कृति विकास गर्नु, समाजमा मानवीय संवेदना फैलाउनु र युवामा सेवाभावको भावना अभिवृद्धि गर्नु हो।

तुलसीपुर मेट्रो कलेजले विगतदेखि नै गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ, नेतृत्व विकास, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई सक्षम तथा जिम्मेवार नागरिकका रूपमा तयार गर्दै आएको छ। यस अभियानले कलेजले अघि सारेको “पढाइसँगै समाजप्रतिको दायित्व” भन्ने अवधारणालाई व्यवहारमै पुष्टि गरेको सहभागीहरूको भनाइ छ।

विशेषगरी कानून अध्ययनरत विद्यार्थीहरूले न्याय, मानवता, कर्तव्यबोध र सेवाको भावनालाई व्यवहारमा उतार्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने सन्देश दिएका छन्। उनीहरूको यो पहलले कानूनको अध्ययन केवल डिग्री हासिल गर्ने माध्यम मात्र नभई समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने माध्यम पनि हो भन्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिवार
प्रतिक्रिया