काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार भएको सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका हुन्।
दुवै दलले पछिल्लो समय प्रदेश सभाहरूमा बजेट निर्माणका क्रममा देखिएका विवाद, बजेट पारित हुन नसकेको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै राजनीतिक स्थिरता र प्रभावकारी शासन सुनिश्चित गर्ने उद्देश्यले सहकार्य गर्ने निर्णय गरेका छन्।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले सम्हाल्नेछ। यी प्रदेशहरूमा संयुक्त सरकार गठन गरी साझा कार्यक्रमका आधारमा अघि बढ्ने समझदारी भएको जनाइएको छ।
यस्तै, मधेस र गण्डकी प्रदेशमा भने सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग छलफल र सहमति गरेर नेतृत्व तथा सत्ता साझेदारीको स्वरूप तय गरिने उल्लेख गरिएको छ। दुवै दलले प्रदेशस्तरमा राजनीतिक स्थायित्व, सुशासन, विकास निर्माण र जनसेवा प्रभावकारी बनाउन संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।





