काठमाण्डौ, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछाने मार्फत नवनिर्वाचितहरूले शपथ लिएका हुन् । यहि असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
शपथ लगत्तै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति रवि लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गर्नुभएको हो । त्यस्तै आज नै पहिलो केन्द्रीय समितिको बैठक बोलाउने तयारी छ । उक्त बैठकले मनोनित हुने ५१ जनाको विषयमा छलफल गर्ने बताइएको छ । महाधिवेशमा रास्वपाको सभापतिमा लामिछाने निर्विरोध निर्वाचित हुनु भएको हो भने अन्य पदाधिकारीमा निर्वाचन भएको थियो ।
प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार






