काठमाडौं, २६ जेठ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नु भयको छ। राष्ट्रपति कार्यालयका अनुसार गुरुङले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
यसअघि चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङले आफ्नो सम्पत्ति विवरणसँग सम्बन्धित विषयमा प्रश्न उठेपछि पदबाट राजीनामा दिनु भयको थियो। त्यसपछि सरकारले उहासँग जोडिएका सार्वजनिक सरोकारका विषयहरूको अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले आफ्नो प्रतिवेदन शुक्रबार प्रधानमन्त्री शाहलाई बुझाएको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन ग्रहण गर्दै त्यसका निष्कर्षलाई आधार मानेर गुरुङलाई पुनः गृहमन्त्री बनाउने निर्णय गरेको स्रोतले जनाएको छ।उता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्वका लागि प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सिफारिस गरिएको छ। नवप्रवर्तन र प्रविधि क्षेत्रमा लामो समयदेखि सक्रिय पुनले पनि आजै राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
सरकारको पछिल्लो निर्णयसँगै मन्त्रिपरिषद्मा दुई महत्वपूर्ण मन्त्रालयमा नयाँ नेतृत्व आउने भएको छ। गृहमन्त्रालयमा गुरुङको पुनरागमन र विज्ञान–प्रविधि मन्त्रालयमा पुनको नियुक्तिलाई सरकारको कार्यसम्पादन तथा नीतिगत प्राथमिकतासँग जोडेर हेरिएको छ।






