२०८३ जेष्ठ २४ गते आइतवार

रास्वपा दाङको सभापतिमा किरण खनाल निर्वाचित

दाङ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ । पार्टीभित्र सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि सभापति, उपसभापति, सचिव र सहसचिव पदका लागि निर्वाचन गरिएको हो । जस अनुसार सभापति पदमा १९६ मत प्राप्त गरेर किरण विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी बिनय घिमिरेले १२४ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी सभापति पदका उम्मेदवार केदार रजौरेले ६ र किरण आचार्यले २ मत प्राप्त गर्नुभएको थियो । सभापति ४ जनाले उम्मेदवारी दिएका थिए ।

उपसभापति पदमा निराजन थापाले २४१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सुनिता रावतले ८९ मत प्राप्त गर्नुभएको थियो । सचिव पदमा असिम भुसालले २०० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गर्नुभएको थियो ।

सहसचिव पदमा प्रमिला रोका मगर १४८ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी दिपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गर्नुभएको थियो । सहसचिव पदमा ३ जनाको उम्मेदवारी परेको थियो । त्यसैगरी सदस्यहरुमा होताराम आचार्य, रबिन्द्र केसी, प्रकाश चौधरी, पवित्रा बिक, प्रताप बिक्रम पुन, अनन्ता चौधरी, मोहन आचार्य, गोमा शर्मा र चुमान चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २४ गते आइतवार
प्रतिक्रिया