२०८३ जेष्ठ २३ गते शनिवार

तुलसीपुरमा ३५५ जनामा टिबि संक्रमण पुष्टी

तुलसीपुर, २३ जेठ ।  दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा हाल ३५५ जनामा क्षयरोग (टिबी) संक्रमण पुष्टि भएको छ । क्षयरोगमुक्त पालिका निर्माण गर्ने लक्ष्यसहित तुलसीपुर उपमहानगरपालिकाले युवा, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै रोग नियन्त्रण र न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता जुटाएको छ । कार्यक्रममा जानकारी दिँदै तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपानेले गत आर्थिक वर्ष ३९९ जना संक्रमित रहेकोमा चालु आर्थिक वर्षमा हालसम्म ३५५ जनामा क्षयरोग पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार संक्रमितमध्ये १५ वर्षमाथिका ३२१ जना र १५ वर्षमुनिका ३४ जना रहेका छन् । न्यौपानेले क्षयरोगका लक्षण, संक्रमण सर्ने तरिका, बच्ने उपाय तथा उपचार प्रक्रियाबारे जानकारी गराउँदै समयमै परीक्षण र चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले उपचार बीचमै छाडे रोग पुनः बल्झिन सक्ने र थप जटिलता निम्तिन सक्ने चेतावनी पनि दिनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले क्षयरोग केवल स्वास्थ्य क्षेत्रको मात्र विषय नभई सामाजिक सरोकारसँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले तुलसीपुरलाई जतिसक्दो छिटो क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यका साथ उपमहानगरपालिका योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । मेयर खड्काले क्षयरोग नियन्त्रण र रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै समयमै परीक्षण, नियमित उपचार र समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न सके क्षयरोगमुक्त तुलसीपुरको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस अभियानमा नागरिक, संघसंस्था, सञ्चारमाध्यम तथा युवाहरूको सक्रिय साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा क्षयरोगका बिरामीप्रति घृणा वा विभेद नगरी माया, सहयोग र स्याहार–सुसार गर्नुपर्नेमा विशेष जोड दिइएको थियो। साथै बिरामीहरूले आत्मविश्वास उच्च राख्दै उपचार प्रक्रियालाई निरन्तरता दिनुपर्ने सुझाव पनि सहभागीहरूले दिएका थिए ।

अभिमुखीकरण कार्यक्रममा सहभागी युवा, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समुदायस्तरमा जनचेतना फैलाउने, शंकास्पद बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्न प्रेरित गर्ने तथा उपचाररत बिरामीलाई हौसला प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा का उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर नगर जेसिज का अध्यक्ष कमल प्रकाश शर्मा तथा तुलसीपुर सेन्टर स्कुल का प्रधानाध्यापक भागवत पौडेल लगायतले आ–आफ्नो धारणा राख्दै क्षयरोगमुक्त समाज निर्माणका लागि सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताएका थिए । कार्यक्रमले क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायस्तरमा रोग नियन्त्रणका लागि साझा प्रतिबद्धता निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते शनिवार
प्रतिक्रिया