२०८३ जेष्ठ १२ गते मङ्गलवार

रोल्पामा रुखले च्यापेर सासुबुहारीको मृत्यु

फोटो फाईल

दाङ,१२ जेठ । रोल्पामा हावाहुरीसँगै ढलेको रूखले च्याप्दा दुई जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका २ हेलोवाङकी ६० वर्षीया रूजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्री रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रवक्ता तथा प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार सोमबार बेलुकी करिब पौने ८ बजेतिर हावाहुरीसहित पानी परिरहेका बेला बाटोमाथिबाट उतिसको रूख ढलेर उनीहरूलाई च्यापेको थियो।

 

घटनामा रूजु झाँक्रीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी मनबुजी झाँक्रीलाई तत्काल उद्धार गरी थवाङ अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। गम्भिर घाईते मनबुजीलाई थप उपचारका लागि पोखरा लैजादै गर्दा मंगलबार बिहान करिब साढे २ बजेतिर बाटोमै मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

 

प्रहरीका अनुसार रूख ढलेर मानिस च्यापिएको खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घाइतेको उद्धार गरी तत्काल अस्पताल पुर्‍याएको जनाएको छ। मृतक रूजु झाँक्री नाताले सासू र मनबुजी झाँक्री बुहारी रहेको प्रहरीले जनाएको छ। उनीहरू आफन्ती विरामीलाई अस्पतालमा भेटेर घर फर्किने क्रममा बाटोमा आएको हावाहुरीले रुख ढल्दा घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार
प्रतिक्रिया