तुलसीपुर, १२ जेठ । दाङको तुलसीपुरमा एक महिलाको संकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१० गोलौरी निवासी अन्दाजी ५९ वर्षीया जगनी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार गएराति करिब पौने ७ बजेतिर घरदेखि करिब १०० मिटर टाढा चौधरी मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा घटना संकास्पद देखिएपछि थप अनुसन्धानका लागि नेपालगञ्ज बाट तालिम प्राप्त कुकुरसहितको टोली समेत झिकाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा रातभर सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
आज बिहान जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दिपक श्रेष्ठ, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुली, इन्स्पेक्टर विनोदराज खत्री लगायतको टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय दाङकाख डिएसपी रेहम बोहराका अनुसार आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी बिहान सवा १० बजे शव उठाइएको छ । मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल को शवगृहमा राखिएको छ । स्थानीयका अनुसार चौधरी सोही दिन दिउँसो करिब १२ बजेतिर घरबाट निस्किनुभएको भने साँझ मृत अवस्थामा फेला पर्नुभएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।






