२०८३ जेष्ठ ७ गते बिहिवार

उचित व्यवस्थापन बिना बस्ती हटाउन पाइँदैन : शंकर पोखरेल

तुलसीपुर, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले अतिक्रमित जग्गाको नाममा “डोजर आतंक” मच्चाएको आरोप लगाउनुभएको छ ।उहाँले राज्यले नागरिकको संरक्षण गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि सरकारी जग्गा अतिक्रमणको नाममा मानव बस्तीमा डोजर चलाउनु अमानवीय व्यवहार भएको टिप्पणी गर्नुभयो । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकको उचित व्यवस्थापन नगरी बस्ती हटाउनु अपराध सरह भएको उहाँको भनाइ थियो ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले प्रेस चौतारी नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या समाधान सम्बन्धी कानुनलाई बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले सर्वोच्च अदालतले समेत उचित व्यवस्थापन बिना बस्ती नहटाउन निर्देशन दिएको अवस्थामा सरकारले कानुनकै उल्लंघन गरिरहेको बताउनुभयो ।

साथै एमाले सधैं भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकको समस्या समाधानको पक्षमा रहेको उहाँको भनाइ थियो । जिल्ला अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकार लोकतन्त्रका मूल्य र मान्यताविपरीत अघि बढ्न खोजेको आरोपसमेत लगाउनुभयो । उहाँले जनताका आधारभूत आवश्यकता पूरा गर्दै शुसासन,भ्रष्ट्राचार निरुत्साहित गर्नुको सट्टा सरकारले डोजर आतंक मच्चाउने, राजनीतिक प्रतिशोध साँध्ने, कर्मचारी तथा विद्यार्थी संगठनमाथि हस्तक्षेप गर्ने र जनताप्रति जवाफदेही नहुने गतिविधिमा केन्द्रित भएको दाबी गर्नुभयो ।

संविधानले नेपाली नागरिकलाई प्रदान गरेका अधिकारहरूलाई कुण्ठित पार्ने गरी सरकार अघि बढिरहेको आरोप पनि उहाँले लगाउनुभयो ।पत्रकारहरूले राखेको वाम एकता र पार्टी नेतृत्व परिवर्तनसम्बन्धी जिज्ञासामा महासचिव पोखरेलले नेपाल कम्युनिष्ट पार्टी -एमाले) र नेपाल कम्युनिष्ट पार्टी बीच तत्काल पार्टी एकताबारे कुनै छलफल नभएको स्पष्ट पार्नुभयो ।

उहाँले लोकतन्त्रलाई सुदृढ बनाउन नेपाली कांग्रेस सहित वामपन्थी शक्तिहरूबीच कार्यगत सहकार्य हुन सक्ने भए पनि पार्टी एकताको विषयमा कुनै औपचारिक छलफल नभएको बताउनुभयो । साथै, नेतृत्व परिवर्तनका विषयमा पनि कुनै ठोस निर्णय नभएको प्रतिक्रिया दिनुभयो ।प्रेस चौतारी दाङका सदस्य अरुण नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण प्रेस चौतारी नेपाल तुलसीपुर नगर अध्यक्ष बसन्त परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ ७ गते बिहिवार
प्रतिक्रिया