दाङ, ६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जसले परिवर्तन रोजे उनिहरु नै अहिले सबैभन्दा ज्यादा असुरक्षित हुने अवस्था आएको बताए । नेकपा एमाले दाङले घोराहीमा आयोजना गरेको नेत्रलाल पौडेल अभागिको ४२ औं स्मृति दिवसलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘चुनावमा समयमा एउटा नारा लगाइयो चुपचाप घन्टीमा छाप । अर्को अर्थमा भन्ने हो भने दल नबदल्ने मत बदल्ने । यसपटक त नयाँलाई रोज्ने जुनप्रकारको मान्यता अघि सारियो । जसका कारण सबैभन्दा धेरै गरिबी र अभावमा बाँचेकाहरुले नै नयाँ आए चमत्कारै हुन्छ भन्ने प्रकारको मान्यता राखे । राजनीतिक दलहरुसंग सम्बन्ध पनि नबिगार्ने र भोट पनि नदिने जुन नीति अख्तीयार गरे । आज त्यसैको परिनाम जनताले भागिरहेका छन् । ’ महासचिव पोखरेलले भने ।
भदौ २३ र २४ को परिवर्तन मूलुकलाई अघि बढाउनका लागि गरिएको नभई देशलाई पछाडी पार्न र भूराजनीतिक द्धन्दलाई सहयोग पु¥याउनका लागि गरिएको षडयन्त्र भएको बताए । आज एमाले कम्जोर हुँदा गरिब तथा विपन्न वर्गले दुःख पाएको बताउँदै पोखरेलले त्यसका विरुद्ध प्रतिवाद गर्ने बताए ।
५ वर्षसम्म उनिहरुको हातमा सत्ता गएपनि राष्ट्र, राष्ट्रियता र देशकोस्वाधिनताका लागि सडकबाट खबरदारी गनुपर्ने बताए । अव नेतामुखी राजनीति भन्दा पनि जनतामुखी राजनीतिलाई केन्द्रित गर्नुपर्ने भन्दै महासचिव पोखरेलले हरेक नेता तथा कार्यकर्तालाई जनताको घरदैलेमा पुगेर उनिहरुका मुद्दालाई उठाउने आग्रह गरे ।
एमाले दाङका अध्यक्ष शिव कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य नरुलाल चौधरी, अनुशासन आयोगक केन्द्रिय सदस्य छविलाल वली लगायतले सम्बोधन गरेका थिए । उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचाल सचिव श्याम डाँगीले गरेका थिए ।





