२०८३ बैशाख १८ गते शुक्रवार

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने शिक्षक–कर्मचारीको प्रतिबद्धता

फोटो फाईल

तुलसीपुर, १८ बैशाख । तुलसीपुर उपमहानगरपालिका–११ उरहरी स्थित अमर माध्यमिक विद्यालय उरहरीमा शैक्षिक सुधारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीबीच भएको उक्त कार्यक्रममा विद्यालयको समग्र शैक्षिक अवस्था, चुनौती र सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको हो।

कार्यक्रममा सहभागीहरूले सामुदायिक विद्यालयप्रति अभिभावक र समुदायको विश्वास बढाउन गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको आबश्यकता रहेको बताएका थिए । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, नियमित कक्षा सञ्चालन, शिक्षकको उत्तरदायित्व वृद्धि तथा विद्यार्थीको अनुशासन सुधार र अभिभावकको निगरानी थप विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा छलफल भएको थियो । त्यस अवसरमा बोल्दै प्रमुख अतिथि रावतले शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने, आधुनिक शिक्षण विधि अपनाउने तथा अभिभावकको सक्रिय सहभागिता गराई अभिभावकको मन जित्ने विद्यालयका रुपमा विकास गर्ने बताउनु भएको थियो । तुलसीपुर उपमहानगरको सामाजिक विकास समितिका संयोजक समेत रहनु भएका रावतले विद्यालयलाई विश्वासिलो बनाउँदै सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने आफ्नो लक्ष्य रहेको बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहे मात्र शैक्षिक अवस्थामा सुधार हुने बताउनुभयो । साथै उहाले विद्यालयको कक्षा कोठा सिसिक्यामराबाट निगरानी हुनु,आइसीटीको प्रयोग, शिक्षक र विद्यार्थीको मेहनतले विगतको तुलनामा उलेख्य रुपमा शैक्षिक सुधार भैरहेको बताउदै अझ उत्कृष्ट बनाउने योजना रहेको बताउनु भयो ।

यसैविच, सामुदायिक विद्यालय सुधारका लागि शिक्षक कर्मचारीले आफ्ना छोराछोरीलाई विद्यालयलाई भर्ना गर्ने प्रतिबद्धता जनाएका छन । विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउदै शिक्षकहरु जिवन केसी,देवनारायण चौधरी,दिवश रेग्मी,चन्द्रकला डाँगी,माधवा आचार्य,कर्मचारी कविता केसीले छोराछोरीलाई विद्यालयमा भर्ना गर्ने भएका हुन । सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी समेत भर्ना गरि सक्रियता देखाएकोमा विद्यालयले सम्मान गर्दै धन्यवाद समेत ब्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार
प्रतिक्रिया