तुलसीपुर, १७ बैशाख । २५७० औँ बुद्धजयन्तीको अवसरमा तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर मेट्रो कलेजको आयोजनामा आज “गौतम बुद्धले फैलाएको शान्तिको सन्देश र आजको सन्दर्भ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कलेज प्रमुख बसन्त कुमार आचार्यको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख खड्काले गौतम बुद्धले समाज रूपान्तरणका लागि खेलेको भूमिकाको चर्चा गर्दै उहाँका विचारले हिंसा, हत्या, द्वन्द्व र अशान्ति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले बुद्धका आदर्श, दर्शन र सिद्धान्तलाई व्यवहारमा उतार्न सके समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो। सो अवसरमा बोल्ने अन्य वक्ताहरूले बुद्धका सिद्धान्त र दर्शन आजको समाजमा अझै सान्दर्भिक रहेको धारणा व्यक्त गरेका थिए ।
उनीहरुले बुद्धको चर्चा गर्दै उहाको ज्ञान र शिक्षालाई अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका पवन यादव, कलेज सञ्चालक समितिका सदस्य केदार आचार्य , विद्यार्थी अञ्जली शाह लगायतले बोल्नु भएको थियो । कलेजका किशोर अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजकी सुधा सुमन ढकालले गर्नुभएको थियो।
प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार


















