२०८३ बैशाख ७ गते सोमवार

हस्तलेखनमा निखार ल्याउन शिक्षकलाई गुरुकुलमा तालिम

लमही, ७ बैशाख । शिक्षकको सीप अभिवृद्धि मार्फत शिक्षाको गुणस्तर उकास्ने उद्देश्यका साथ गुरुकुल एकेडेमी लमहीले हस्तलेखन सम्बन्धी विशेष तालिम कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शिक्षकहरूको लेखन सीपलाई प्रभावकारी, स्पष्ट र आकर्षक बनाउने लक्ष्य राखिएको थियो। तालिममा गुरुकुल एकेडेमी घोराहीका अतिरिक्त विभाग प्रमुख विशालमान श्रेष्ठले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै हस्तलेखन सुधारका व्यावहारिक तरिका, अक्षरको संरचना, सन्तुलन तथा सफा लेखनका उपायबारे विस्तृत जानकारी दिनुभयो।

कार्यक्रमको विशेषता भनेको केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई शिक्षकहरूलाई व्यवहारिक अभ्याससमेत गराइनु थियो। यसले सहभागी शिक्षकहरूको लेखन सीपलाई अझ सुदृढ बनाउन सहयोग पुगेको छ। कार्यक्रम गुरुकुल एकेडेमी लमहीका शैक्षिक निर्देशक विवेक देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो। उहाँले शिक्षक सशक्तिकरण बिना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै यस्ता तालिमले विद्यार्थीको सिकाइमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका अनुसार, शिक्षकहरूको हस्तलेखनमा सुधार ल्याउँदा त्यसको प्रभाव विद्यार्थीमा समेत पर्ने भएकाले उनीहरूमा सफा, स्पष्ट र आकर्षक लेखनको बानी विकास हुने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी र प्रभावकारी भन्दै आगामी दिनमा सिकेका सीप कक्षाकोठामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको बताउँदै यसबाट समग्र शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार
प्रतिक्रिया