२०८२ चैत्र २० गते शुक्रवार

स्वीकृत भएन कांग्रेस सभापति गगन थापाको राजीनामा

काठमाण्डौँ, ९ चैत ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिनुभएको राजीनामाका सम्बन्धमा छलफल गरी अस्वीकृत गर्ने निर्णय गरेको हो । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालकाअनुसार पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारीलाई समेत मध्यनजर गरी राजीनामा अस्वीकृत गर्ने निर्णय गरिएको हो । बैठकले गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा पार्टीले प्राप्त गरेको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रूपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको निष्कर्ष निकालेको छ ।

देशको अहिलेको परिस्थितिमा कांग्रेस सभापतिका रूपमा थापाले निर्वाह गर्नुपर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभइसकेको वर्तमान अवस्थामा सभापति थापालाई पूर्ववत् जिम्मेवारीमा फर्किन आग्रह गर्दै बैठकले सर्वसम्मतिबाट राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा कमी आउने सम्भावना रहेकाले सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत भएको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार
प्रतिक्रिया