२०८३ बैशाख १८ गते शुक्रवार

कांग्रेस, एमालेसहित सबै दलको मत जोड्दा पनि रास्वपाको जती पुगेन

काठमाण्डौँ, १ चैत ।  प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाप्त गरेको मत अन्य सबै दलको मत भन्दा पनि बढि रहेको पाइएको छ । प्रत्यक्ष र समानुपातिक गरी झण्डै दुई तिहाइ नजिकको सिट प्राप्त गरेको रास्वपाले १२५ सिट र समानुपातिकतर्फ ५१ लाख १३ हजार ९८४ मतसहित ५७ सिट सुरक्षित गरेको छ । यसरी २७५ सदस्यीय प्रतिनिधि सभामा १८२ सिटमा रास्वपाले कब्जा जमाएको छ । जुन दुई तिहाइ पुग्न २ सिट कम हो । नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिकमा क्रमशः १८ र २० गरी ३८ सिट, नेकपा एमालेले ९ र १६ गरी २५, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ८ र ९ गरी १७, श्रम संस्कृति पार्टीले ३ र ४ गरी ७ र राप्रपाले १ र ४ गरी ५ सिट जितेका छन् । राष्ट्रिय दलको मान्यता पाएका ६ दलमध्ये रास्वपाले अन्य पाँच दलले पाएको मत भन्दा साढे चार लाख भन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले समानुपातिकतर्फ ५१ लाख १३ हजार ९८४ मत प्राप्त गर्दा नेपाली कांग्रेसले १७ लाख २८ हजार ७४८ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ३४ हजार ८०९ मत पाएको छ ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ८५ हजार ७०१ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीले ३ लाख ८४ हजार८३६ मत र राप्रपाले ३ लाख २७ हजार ३४७ मत मात्र पाएको छ । रास्वपा बाहेकका पाँच दलले समानुपातिकतर्फ पाएको सबै मत जोड्दा ४६ लाख ६१ हजार ४४१ मत हुन्छ । रास्वपाले पाएको ५१ लाख १३ हजार ९८४ मतबाट अन्य पाँच दलले पाएको मत घटाउँदाको अन्तर ४ लाख ५२ हजार ५४३ मत बढी हुन आउँछ । यससँगै साढे तीन वर्ष अघि मात्र गठन भएको रास्वपाले संसद्को इतिहासमै सबैभन्दा बढी सिट जितेर स्थिर सरकार बनाउने ‘म्यान्डेट’ पाएको छ । निर्वाचनमा ६७ दलले सहभागिता जनाए पनि ६१ दलले समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड मत ल्याउन नसक्दा संसद्मा प्रतिनिधित्व गर्नबाट वञ्चित भएका छन् । निर्वाचन आयोगका अनुसार रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति र राप्रपा राष्ट्रिय दलले मात्र मान्यता पाएका हुन् ।।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया