२०८३ भाद्र १२ गते शुक्रवार

धार्दिङमा भएको बस दुर्घटनाको प्रतिवेदन यस्तो आयो

फोटो फाईल

काठमाडौ, २९ फागुन । गत ११ फागुन बिहान करिब साढे १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनाबारे छानबिन कार्यदलले प्रतिवेदन तयार पारेको छ ।उक्त प्रतिवेदन आज शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष पेश गरिएको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परी बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका थिए ।

उक्त घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा कार्यदल गरेको थियो ।प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक तिवारीले घटनास्थल निरीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, यात्रुहरूसँग सोधपुछ तथा सडक पूर्वाधारको अवस्थाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो ।

सवारी साधनमा कुनै यान्त्रिक खराबी नभेटिएको र चालकले मादक पदार्थ सेवन गरेको प्रमाण पनि फेला नपरेको उहाको भनाइ छ । चालकमा थकान रहेको देखिएको र सडक सुरक्षा पूर्वाधार पनि अपर्याप्त रहेको कारण दुर्घटना घटेको निष्कर्ष कार्यदलको छ ।

‘हामीले घटनास्थलको निरीक्षण गर्यौं । सवारीको यान्त्रिक परीक्षण पनि गर्यौँ । यात्रुहरूसँग सोधपुछ पनि गर्यौँ । सडक पूर्वाधारको अवस्थाको विश्लेषण पनि गर्यौं । र अन्य तथ्यहरू समेत विश्लेषण गरेर केही निष्कर्षसहित हामीले प्रतिवेदन तयार पारेका छौं,’ उहाले भन्नुभयो, ‘मुलतः सवारी साधनमा कुनैपनि यान्त्रिक खराबी देखिएन । चालकले मादक पदार्थ सेवन गरेको प्रमाण पनि भेटिएन । चालकमा थकान रहेको देखियो ।’

उपलब्ध तथ्य तथा प्रमाणको विश्लेषण गर्दा चालकले कुनै कारणवश सवारीमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा बस अचानक अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको देखिएको उहाको भनाइ छ ।‘सडक सुरक्षा पूर्वाधार अपर्याप्त देखियो । उपलब्ध तथ्य तथा प्रमाणहरूको विश्लेषण गर्दा मुख्य कारणको रुपमा हामीले सवारी चालकले कुनै कारणवस सवारी साधनमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा सवारी अचानक अनियन्त्रित भई सडकबाट तल खस्न गई दुर्घटना भएको देखिन्छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार
प्रतिक्रिया