दाङ, २८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लामा समानुपातिक प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्वाधिक मत ल्याउने दल बनेको छ । प्रदेशभरिका छ दलको मतपरिणाममा रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौथो, राप्रपा पाँचौँ र श्रम संस्कृति पार्टी छैटौँ स्थानमा देखिएका छन् । १२ वटा जिल्ला रहेको प्रदेशमा २६ वटा निर्वाचन क्षेत्र रहेका छन । त्यसमध्ये २१ क्षेत्रमा रास्वपाले जितेको छ भने कांग्रेस र नेकपाले दुई÷दुई र एमालेले एक क्षेत्रमा जित निकालेका छन् ।
रोल्पा र रुकुमपूर्वमा नेकपा पहिलो दल बनेको भए पनि अन्य सबै जिल्लामा रास्वपा पहिलो दल बनेको छ । समानुपातिकतर्फ लुम्बिनी प्रदेशमा रास्वपाले कुल नौ लाख २८ हजार ३५२ मत प्राप्त गरेको छ । दोस्रो ठुलो दल कांग्रेसले तीन लाख पाँच हजार ६८९, तेस्रो दल एमालेले दुई लाख ९६ हजार ५१३, चौथो दल नेकपाले एक लाख ५७ हजार ९७१ मत प्राप्त गरेका छन् । पाँचौँ दल राप्रपाले ८० हजार तीन र श्रम संस्कृति पार्टीले २३ हजार ५०३ मत पाएका छन् ।।


















