काठमाडौँ, १ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार टेलिफोन वार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा फागुनमा हुने निर्वाचनका लागि आवश्यक सहयोग, पुनर्निर्माण र दुई देशबीचको सहकार्यबारे कुराकानी हुनेछ।
यसअघि मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेटमा मोदीको बधाई सन्देश सुनाएका थिए। त्यही भेटमा टेलिफोन वार्ता गर्ने सहमति भएको हो। मोदीले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा सामाजिक सञ्जालमार्फत बधाई दिँदै नेपाल–भारतबीचको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनले कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा देखिएको नेतृत्व महिला सशक्तिकरणको उत्कृष्ट उदाहरण भएको उल्लेख गरेका थिए।
भारतले पनि विज्ञप्ति जारी गर्दै नेपालमा भएको राजनीतिक घटनाक्रमलाई स्वागत गर्दै स्थिरता र समृद्धिका लागि सहयोग जारी रहने जनाएको छ।


















