
भक्तपुर, १ असोज। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा लिने तालिका सार्वजनिक भए पनि देशको वर्तमान अवस्थाका कारण तालिका संशोधन गरिएको हो।
बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। त्यस्तै, एउटै विषयको मात्र परीक्षा दिने विद्यार्थीले सोही दिन परीक्षा दिनुपर्नेछ। दुई विषय दिने परीक्षार्थीका लागि भने पहिलो दिन सानो कोड नम्बर भएको विषय, अर्थात् अङ्ग्रेजी (००४१) वा नेपाली (००२१) मध्ये सानो कोड भएको विषयको परीक्षा हुनेछ। असोज ८ गते दुई विषय दिने परीक्षार्थीले ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन्। सो दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषय भने सञ्चालन नहुने बोर्डले स्पष्ट पारेको छ।
बोर्डले यसअघि नै परीक्षा केन्द्र तोकिसकेको छ र तोकिएको तालिकाअनुसार परीक्षा सञ्चालन हुने जनाएको छ। पूरक परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई परीक्षा तालिका हेरी समयमा उपस्थित हुन आग्रह गरिएको छ।