
काठमाडौं, २८ भदौ। नेपालकी नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आइतबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्ने भएकी छन्। शुक्रबार राति प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सञ्चारकर्मी र सुरक्षाकर्मीहरूको चहलपहल देखिए पनि प्रधानमन्त्री कार्की भने कार्यालयमा उपस्थित भइनन्।
स्रोतका अनुसार, सम्भावित नयाँ कार्यस्थल गृह मन्त्रालयको नयाँ भवन हुनसक्ने संकेत दिइएको छ। त्यहीँबाट उनले प्रधानमन्त्रीको कार्यसम्भाल्ने तयारी भइरहेको बताइएको छ।
शुक्रबार राति पदमा नियुक्त भएपछि कार्की आफ्नै निजी निवास फर्किएकी थिइन्। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हाल जेनजी आन्दोलनका कारण क्षति पुगेको हुँदा उनी त्यहाँ नगई आफ्नै घर गएकी हुन्। यही रात सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको घोषणा गरेका थिए। सरकारको नयाँ संरचना र कार्यशैलीबारे अबको केही दिनभित्र स्पष्टता आउने अपेक्षा गरिएको छ।