
काठमाडौँ, २८ भदौ। नेपाली काँग्रेसले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेको निर्णयको विरोध गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्या विपरीत भएको निष्कर्ष निकाल्दै यसले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको जनाएको छ ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकमा प्रदेश सभापति, मुख्यमन्त्री र संसदीय दलका नेताहरू सहभागी थिए । बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले संसद् विघटनले जेनजी आन्दोलनको मर्मलाई पनि कमजोर बनाउन सक्ने आशङ्का व्यक्त गर्नुभयो ।काँग्रेसले यसअघि नै जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने र आवश्यक भए संविधान संशोधनमार्फत वैधानिक बाटो निकाल्ने सुझाव दिएको स्मरण गराउँदै, सहमतिपूर्ण प्रक्रियालाई पन्छाएर संविधान विपरीत निर्णय गर्नु दु:खद् भएको जनाएको छ ।
बैठकले भदौ २३–२४ मा भएका अप्रिय घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन, संविधान र त्यसले सुनिश्चित गरेका उपलब्धि जोगाउन र परिस्थिति बिग्रिन नदिन संयम, संवाद र एकता आवश्यक रहेको निष्कर्ष निकालेको छ ।