तुलसीपुर, २९ कात्तिक । दाङमा जेनजी आन्दोलनका नाममा आगजनी, तोडफोड र चोरी गर्ने थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा दाङ सरकारी कार्यालयमा आगजनी र लुटपाट गर्ने थप दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–१५, शहीद गेट नजिक बस्ने २८ वर्षीय विकास भुषाल र घोराही उप–महानगरपालिका–१०, नारायणपुर बस्ने १९ वर्षीय अनिल बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो । भुषाललाई जिल्ला अदालत दाङको भवनमा आगजनी गरी लुटपाट–चोरी गरेको प्रमाणका आधारमा पक्राउ गरिएको हो । उनले आन्दोलनकै भीडमा अदालत भवनभित्र प्रवेश गरी सामग्री नष्ट गर्ने, कागजात तथा उपकरणमा क्षति पु¥याउने कार्यमा भूमिका खेलेको प्रहरीले जनाएको छ ।
यस्तै बिकलाई इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा आगजनी गरेको अभियोगमा पक्राउ गरिएको हो । उनी पनी आन्दोलनकै भीडमा प्रहरी कार्यालय भवनमा प्रवेश गरी आगजनी गरी क्षति पु¥याउने समूहमा सक्रिय रहेको प्रहरीले जनाएको छ । दाङमा सार्वजनिक सम्पत्ति तोडफोड, कार्यालय भवनमा आगजनी तथा चोरीमा संलग्नलाई प्रहरीले अहिले धमाधम पक्राउ गर्न थालेको छ । आन्दोलनको बहानामा सरकारी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र चोरी गर्नेहरुलाई पहिचान गरी पक्राउ गर्ने कार्यलाई प्रहरीले तिब्र पारेको छ । पछिल्लो पटक पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

