दाङ,२३ कात्तिक । दाङमा जनेजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये आठ जना घोराही उपमहानगरपालिका र एक जना सल्यानका रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका–१५ का २४ वर्षीय सुनिल थापा मगर, त्यही ठाउँका २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय ईनाहित कुरेसी र १८ वर्षीय टेकम डाँगी रहेका छन्।
त्यस्तै, घोराही–१५ कै १८ वर्षीय विवेक पुन मगर, घोराही–१३ का २९ वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुरका ३४ वर्षीय शरद बस्नेत, घोराही–१३ का सन्दीप घर्ती र सल्यान छत्रेश्वरी गाउँपालिका–४ का २६ वर्षीय अमरबहादुर वली पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार पक्राउ परेकाहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही र घोराही बजारस्थित भानुचोकमा रहेको प्रहरी बिटमा ढुंगामुढा, तोडफोड, लुटपाट तथा आगजनी गरी सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएका छन्। प्रहरीका अनुसार ट्राफिक प्रहरी कार्यालयमा भएको आगजनी र लुटपाट प्रकरणमा संलग्न व्यक्तिहरूलाई दाङ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ भने भानुचोकस्थित प्रहरी बिटमा तोडफोड तथा आगजनी गर्ने समूहका लागि ७ दिनको म्याद थप गरिएको छ। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

