२०८२ मङ्सिर १ गते सोमवार

दाङमा खाद्यद्वारा ६९ लाखभन्दा बढिको धान खरिद

दाङ,३० कात्तिक । दाङको गढवा गाउँपालिकामा किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ६९ लाखभन्दा बढि मूल्यको धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही कात्तिक २४ देखि २८ गतेसम्म ८० जना किसानको ६९ लाख २७ हजार छ सय २० रूपियाँ मूल्यको दुई हजार क्वीन्टल धान खरिद गरेको सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभएको छ । जिल्ला प्राथमिक खरिद समिति दाङले तोकेअनुसार गढवा गाउँपालिकामा किसानसँग धान खरिद गरिएको बताउनुभयो । गढवा गाउँपालिकामा धान खरिद सकिएपछि आइतबारदेखि लमही नगरपालिकामा किसानसँग धान खरिद गर्न थालिएको बताउनुभयो । दाङमा धान खरिद गर्नका लागि तोकेको पाँच हजार क्वीन्टल कोटामध्ये जिल्लाका तीन स्थानीय तहसँग खरिद गर्ने सम्झौता छ । सोही अनुसार गढवा गाउँपालिकाबाट दुई हजार क्वीन्टल धान खरिद गर्ने काम सकेको छ । अब लमही नगरपालिकामा सुरु गर्दैछ ।

लमही नगरपालिका एक हजार पाँच सय क्वीन्टन धान किसानसँग खरिद गरिनेछ । लमहीमा प्रति किसान अधिकतम १५ क्वीन्टलसम्म धान खरिद गरिने छ । खाद्यले गढवामा प्रति किसान अधिकतम ४० क्वीन्टलसम्म धान खरिद गरेको थियो । लमही नगरपालिकापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राप्ती गाउँपालिकाबाट पनि एक हजार पाँच सय क्वीन्टल धान खरिद गर्ने कार्यक्रम रहेको सूचना अधिकारी डाँगीले जानकारी दिनुभएको छ । प्रति क्वीन्टल तीन हजार चार सय ६३ रूपियाँ ८१ पैसाका दरले किसानसँग धान खरिद गरिरहेको छ । जिल्लामा गतवर्ष खाद्यले आठ हजार क्वीन्टल धान खरिद गर्ने परिचयपत्र भएकोमा एक हजार छ सय क्वीन्टल मात्र धान खरिद गरेको थियो ।।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया