२०८२ मङ्सिर १ गते सोमवार

लम्की खानेपानी र नगर विकास कोषबीच सम्झौता

काठमाण्डौ, २७ कात्तिक । दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि कैलालीको लम्की साना शहरी खानेपानी उपभोक्ता संस्था र नगर विकास कोषबीच काठमाण्डौमा ऋण सम्झौता भएको छ । साना शहरी खानेपानी संस्था र नगर विकास कोषकाबीच २९ करोड ४८ लाख ३२ हजार आर्थिक लगानीका लागि सम्झौता भएको हो ।
जसमध्ये सह लगानी खानेपानी आयोजना अन्तर्गत २० करोड ६३ लाख ८२ हजार ४ सय रुपैयाँ नेपाल सरकारको अनुदान रहने छ भने नगर विकास कोषले वार्षिक ५ प्रतिशतका दरले ७ करोड, ३७ लाख ८ हजार रुपैयाँ ऋण उपलब्ध गराएको छ । उपभोक्ता संस्थाले  १ करोड ४७ लाख ४१ हजार ६ सय रुपैयाँ बेहोर्ने छ ।

राष्ट्रिय साना शहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वली र लम्की चुहा नगरपालिका मेयर सुशीला शाहीको रोहबरमा कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डित र उपभोक्ता संस्थाका अध्यक्ष तेज बहादुर चलाउनेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । यस अघि खानेपानी उपभोक्ता संस्था र कोषका बीचमा ऋण सम्झौता हुँदा स्थानीय सरकार मात्र रोहबरमा बस्ने परिपाटीको अन्त्य गर्दै खानेपानी महासंघलाई रोहबरमा जोडन थालिएको छ । 

 

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया