तुलसीपुर, ३ कार्तिक । समाजमा छोराले मात्रै काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत सोचलाई चुनौती दिँदै दाङको तुलसीपुरमा एक ज्वाइँले आफ्नी सासुको १३ दिनसम्मको काजकिरिया गरिरहनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर निवासी शिव थापाले सासु तुलसी खत्रीको निधनपछि सेतो वस्त्र धारण गरी काजकिरिया गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिका–११ निवासी शोभाराम खत्री र तुलसी खत्रीकी एकमात्र सन्तानका रूपमा रचिता खत्रीको जन्म भएको थियो। ससुरा शोभाराम खत्रीको यसअघि नै निधन भइसकेको थियो । सासु तुलसी खत्रीको असोज ३० गते ८१ वर्षको उमेरमा निधन भएपछि ज्वाइँ शिव थापाले उहाँको काजकिरियाको जिम्मेवारी लिनुभएको हो ।
परम्परागत रूपमा ज्वाइँले पाँच दिनसम्म गोदान गर्ने, नुन खानेलगायतका संस्कार पूरा गर्ने चलन रहेको समाजमा शिव थापाले भने १३ दिनसम्मकै काजकिरिया गर्ने निर्णय गर्नुभएको छ । उहाँको यो कदमले ज्वाइँ पनि छोरासरह हुन् भन्ने सन्देश दिनुका साथै छोरा र छोरीबीच गरिने विभेद अन्त्य गर्नुपर्ने विषयलाई समेत उजागर गरेको छ । सरल स्वभाव र बौद्धिक व्यक्तित्वका रूपमा परिचित थापाको यो निर्णयलाई सामाजिक रूपमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ ।
सन्तान छोरा नै हुनुपर्छ, छोराले मात्रै काजकिरिया गरेमा मृतकले स्वर्ग प्राप्त गर्छन् भन्ने परम्परागत मान्यतामाथि प्रश्न उठाउँदै उहाँले छोरी र ज्वाइँले पनि आमाबुबाप्रतिको दायित्व र जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
समाजमा अझै पनि छोरा र छोरीबीच विभिन्न आधारमा विभेद हुने गरेको अवस्थामा थापाको यो कदमले समानता, पारिवारिक जिम्मेवारी र मानवीय सम्बन्धको महत्त्वलाई स्मरण गराएको छ । संस्कार र संस्कृतिको सम्मान गर्दै समयअनुसार विभेदकारी सोच परिवर्तन गर्नुपर्ने सन्देशसमेत उहाँको निर्णयले दिएको छ ।
छोरा र छोरीबीचको विभेद अन्त्य गर्दै समानता र मानवीय सम्बन्धको महत्त्व उजागर गर्ने शिवको यो कार्य प्रशंसनीय रहेको तुलसीपुर उपमहानगरपालिका –११ का वडा अध्यक्ष मान बहादुर रावतले बताउनुभयो । अध्यक्ष रावतले सामाजिक संजाल फेसवुकमा ज्वाँइले सासुको किरिया गरेको भन्दै फोटो पोष्ट गरेपछि उक्त कार्यको प्रशंसा भएको छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।