काठमाडौं,३ कात्तिक । चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका विपद्का घटनामा ३८६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ । यो तथ्याङ्कमा भोटेकोशी र बूढीगण्डकी बाढीको तथ्याङ्क समावेश छैन ।
प्राधिकरणका अनुसार सात महिनाभन्दा कम अवधिमा देशभर ७ हजार ४३९ वटा विपद्का घटना भएका छन् । ती घटनामा २ हजार ४३३ जना घाइते भएका छन् भने १४ जना बेपत्ता छन् । विपद्का कारण ९ हजार ५२५ परिवार प्रभावित भएका छन् । यस अवधिमा सर्पदंशका १ हजार ६२२ घटना भएका छन् । सर्पको टोकाइबाट ११० जनाको मृत्यु भएको छ भने १ हजार ५२५ जना घाइते भएका छन् । सर्पदंशका घटनाबाट १ हजार ६२७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
पहिरोबाट ७६ र बाढीबाट ४१ जनाको मृत्यु
सर्पदंशपछि पहिरोले सबैभन्दा धेरै मानवीय क्षति पु¥याएको छ । वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर १ हजार ७०९ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परी ७६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र ७५ जना घाइते भएका छन् । पहिरोका कारण १ हजार ४२६ परिवार प्रभावित भएका छन् ।
यस अवधिमा बाढीका ४६० घटना भएका छन् । बाढीबाट ४१ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् । बाढीका कारण १ हजार ३४८ परिवार प्रभावित भएका छन् । त्यस्तै, चट्याङका ३३३ घटनामा ३६ जनाको मृत्यु र २०४ जना घाइते भएका छन् । चट्याङबाट ४०३ परिवार प्रभावित भएका छन् ।
आगलागीमा २९ जनाको मृत्यु
प्राधिकरणको तथ्यांकअनुसार देशभर १ हजार ५०७ वटा आगलागीका घटनामा २९ जनाको मृत्यु भएको छ । ती घटनामा २१९ जना घाइते भएका छन् भने १ हजार ६३९ परिवार प्रभावित भएका छन् । लेक लाग्ने ७२ घटनामा २६ जनाको मृत्यु र ४८ जना घाइते भएका छन् । मानव–वन्यजन्तु द्वन्द्वअन्तर्गत जनावरको आक्रमणका ३९८ घटनामा २१ जनाको मृत्यु र २४१ जना घाइते भएका छन् ।
त्यस्तै, छ वटा हिमपहिरोका घटनामा १९ जनाको मृत्यु र एक जना घाइते भएका छन् । हावाहुरीका ५३७ घटनामा १६ जनाको मृत्यु भएको छ भने १ हजार ४९५ परिवार प्रभावित भएका छन् । भारी वर्षाका ५८४ घटनामा सात जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।