प्यूठान २९ असोज । प्यूठानको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले समाज तथा देश परिवर्तनका लागि स्थानीय स्तरमा क्रियाशील क्लब तथा संघसंस्थाहरू सिर्जनात्मक, जिम्मेवार र परिणाममुखी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाको सहजीकरणमा नौबहिनी गाउँपालिकाले बिहीबार आफ्नै पालिका लुङ्ग बाहानेमा आयोजना गरेको संस्था तथा क्लबहरूको क्षमता विकास तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले समाज रूपान्तरणमा संघसंस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
उहाले समाजमा विद्यमान विकृति, विसंगति, अशिक्षा, बेरोजगारी, लागुऔषध दुर्व्यसन तथा विभिन्न सामाजिक समस्याको न्यूनीकरणका लागि स्थानीय संघसंस्थाहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । समाज परिवर्तनका लागि सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै उहाले नागरिक समाज, युवा क्लब तथा सामाजिक संघसंस्थाहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । अध्यक्ष थापाले युवाहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई सकारात्मक कार्यमा उपयोग गर्नुपर्ने धारणा राख्नु भयो ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष विस्ना थापाले युवाहरूलाई गलत बाटोबाट सही दिशातर्फ उन्मुख गराउन क्लब तथा सामाजिक संघसंस्थाहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उपाध्यक्ष थापाले तालिममा सिकेका ज्ञान र सीपलाई आ–आफ्नो संस्थामा लागू गरी समाजमा देखिने गरी सकारात्मक परिवर्तन ल्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो । गाउँपालिकाभित्र क्रियाशील विभिन्न क्लब तथा संघसंस्थाका २७ जना पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको तालिममा अधिवक्ता तथा जनस्वास्थ्यकर्मी माधव खनाल प्रमुख प्रशिक्षक रहनु भएको थियो ।
त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य तथा आशाका किरण संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ता र संस्थाका सहकोषाध्यक्ष शिवराज भुसाल सहायक प्रशिक्षकका रूपमा रहनु भएको थियो । तालिम मार्फत सहभागीहरूलाई संस्थागत क्षमता विकास, नेतृत्व तथा व्यक्तित्व विकास, बैठक सञ्चालन, माइन्युट लेखन, प्रस्तावना तयारी, कार्यक्रम व्यवस्थापन, प्रतिवेदन लेखन तथा अभिलेख व्यवस्थापन लगायतका विषयमा ज्ञान र सीप प्रदान गर्ने उद्देश्य राखिएको छ।
गाउँपालिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख राधा बस्नेतले स्वागत मन्तव्य सहित तालिमको उद्देश्य र विषयवस्तुबारे जानकारी गराएकी भएको थियो । कार्यक्रममा आशाका किरण संस्थाका अध्यक्ष दिवस आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गर्नुभएको थियो ।










टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।